General

मङ्गोल र किराँतको परिभाषा

November 16, 2025 By Administrator 64 views
मङ्गोल र किराँतको परिभाषा

मानव सभ्यताको उत्पत्तिबारे वैज्ञानिक तथा ऐतिहासिक अनुसन्धानहरूले देखाउने तथ्य नै —मानवको मूल जरा एकै हो, र होमो सेपियन्स नामक प्रजातिको उद्गम प्राचीन अफ्रिकाबाट भएको हो।' मानव विकासक्रममा होमो हाबिलिस, होमो इरेक्टस हुँदै होमो नेन्डर्थल जस्ता प्रजातिहरूबाट विकास भई आधुनिक मान्छे आजका स्वरूपमा पुगेका हुन्। यसै जैविक सत्यका आधारमा विश्वका सबै मानिसहरूको जैविक उत्पत्ति समान मानिन्छ।

मानव उत्पत्ति, वर्ण–समूह सिद्धान्त, मङ्गोल इतिहास र नेपालका किरात समुदाय:विवेचनात्मक अध्ययन


मानव सभ्यताको उत्पत्तिबारे वैज्ञानिक तथा ऐतिहासिक अनुसन्धानहरूले देखाउने तथ्य नै —मानवको मूल जरा एकै हो, र होमो सेपियन्स नामक प्रजातिको उद्गम प्राचीन अफ्रिकाबाट भएको हो।' मानव विकासक्रममा होमो हाबिलिस, होमो इरेक्टस हुँदै होमो नेन्डर्थल जस्ता प्रजातिहरूबाट विकास भई आधुनिक मान्छे आजका स्वरूपमा पुगेका हुन्। यसै जैविक सत्यका आधारमा विश्वका सबै मानिसहरूको जैविक उत्पत्ति समान मानिन्छ।


१. वर्ण–समूह विभाजनको ऐतिहासिक विकास


समयक्रममा मानवसमूहलाई विभिन्न “वर्ण”, “जाति” वा “रेस” मा वर्गीकृत गर्ने प्रयासहरू भए, तर ती सबै आधुनिक जनसांख्यिक तथा जेनेटिक विज्ञानका दृष्टिले त्रुटिपूर्ण वा अपूर्ण मानिन्छन्।


(क) हिब्रू बाइबल मा नोहाका तीन पुत्र —शेम, ह्याम, जापेथ— का नाममा मानव विभाजन गरियो। यसले धार्मिक आधारमा वर्ग पहिचानको अभ्यास देखाउँछ।

(ख) सन् १५९० तिर ब्रुनो र जिन बोदा ले मानिसलाई बाह्य आवरण तथा रङका आधारमा समूहमा राखे।

(ग) १७ औँ शताब्दीमा बनार्ड भारेन र जोन रे ले मानवलाई वातावरण, शारीरिक आकार र वर्णअनुसार वर्गीकृत गरे।

(घ) पछि फ्रेडरिक ब्लुमेनबाखले मानवलाई पाँच प्रजातिमा वर्गीकृत गरे—

 

1. Caucasian

2. Mongolian

3. Ethiopian

4. Malayan

5. American


त्यसपछि वैज्ञानिक अनुसन्धानहरूले —रूपरङ्ग, कपालको प्रकार, अनुहारको बनावट, शरीरको रंग आदि १०० पुस्ता अर्थात् करिब २,०००–२,५०० वर्षमा वातावरणअनुसार बदलिन सक्छ भनी प्रमाणित गरिदियो।अर्थात् रूपरङ्गले मानवको मूल पहिचान बताउँदैन।यसको अर्थ यदि आज हामी अफ्रिकामा गएर बस्यौँ भने १०० पुस्तापछि हाम्रो स्वरूप पनि त्यही क्षेत्रअनुसार बदलिन्छ।


२. आधुनिक रेसः सिद्धान्त र यसको विवाद

सन् १९२० मा हार्वर्ड विश्वविद्यालयका कार्लटन एस. कूनले नाक, आँखाको बनावट, कपाल, अनुहारको संरचना आदिमा आधारित चार रेस प्रस्ताव गरे—

1. Caucasian

2. Mongoloid

3. Negroid

4. Australoid

तर पछिल्लो जैविक शोध अनुसार यी समूहहरू वैज्ञानिक वर्गीकरण होइनन्, बरु राजनीतिक, औपनिवेशिक र सांस्कृतिक प्रभावका कारण बनेका कृत्रिम श्रेणीहरू हुन्।


यसै गलत सिद्धान्तकै कारण युरोपेली उपनिवेशवादले आफैँलाई श्रेष्ठ देखाउने प्रयास गर्‍यो।हिटलरले “आर्य श्रेष्ठता” को नाममा लाखौँ निर्दोष यहूदी, स्लाभ, रोमा तथा समलैङ्गीहरूलाई हत्या गर्‍यो। तर आर्य शब्द संस्कृतको हो, जसको अर्थ “श्रेष्ठ”, “उदात्त” वा “शिष्ट” हो। प्राचीन ग्रन्थहरू अनुसार जुनसुकै जात वा वर्णको व्यक्ति पनि व्यवहार, संस्कार र सदाचरणका अधारमा “आर्य” कहलिन्थ्यो —यसको जैविक अर्थ थिएन।


३. मङ्गोलहरूको उदय र उनीहरूको वास्तविक इतिहास

मङ्गोल कुनै रेस होइन, एक ऐतिहासिक–राजनीतिक समुदाय हो।नेपालका केही समुदायले अनुहारकै आधारमा आफूलाई “मङ्गोल” भनी दाबी गर्नु वैज्ञानिक वा ऐतिहासिक दुवै दृष्टिले ठोस छैन।

३.१ मङ्गोलहरूको प्रारम्भिक राज्यहरू

Xiongnu Confederation (ईसा पूर्व ३ शताब्दी–सन् ९३)

Xianbei (सन् २३४)

Rouran (सन् ५५५)

Gokturk Empire (सन् ८४०)

Liao Dynasty (सन् ११२६ सम्म)


यी सबै आधुनिक मङ्गोलियाको आदिम भूगोलमा विकसित भए।

३.२ सार्वभौम एकीकरण : टेमूजिन → चिङ्गिज खाँ

सन् १२०६ मा टेमुजिनलाई ‘चिङ्गिज खाँ: घोषणा गरियो, खान (Khan) को अर्थ “शासक”, “राजा”, “नेता”, महान् नेता, सेनापति भन्ने बुझिन्छ।मध्य–एशियाली, तुरकीय, मङ्गोल र इस्लामिक संस्कृतिमा “खान” उपाधि साम्राज्य वा जनजातिको सर्वोच्च नेताका लागि प्रयोग हुन्थ्यो, र इतिहासकै विशाल साम्राज्य निर्माण भयो। उनका नाति कुब्लाइ खाँ को नेतृत्वमा स्थापित युआन वंश चाइना, कोरिया, भियतनाम, तिब्बत आदि देशमा फैलियो। १४ औँ शताब्दीमा मङ्गोलिया विश्वकै सबैभन्दा ठूलो contiguous empire (२४ मिलियन वर्ग किमी) विशाल आकारको मुलुक बन्यो।


३.३ आधुनिक मङ्गोलिया

२०औँ शताब्दीमा

१९११ : चीनबाट स्वतन्त्रता घोषणा

१९२१ : सोभियत सहयोगमा पूर्ण स्वतन्त्रता

१९४७ : संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त

हाल मङ्गोलियाको जनसंख्या ३३ लाख र भू–क्षेत्र १५ लाख ६४ हजार वर्ग किमी छ।


महत्वपूर्ण तथ्य

नेपालका किरात समुदाय र मङ्गोलहरूको कुनै जैविक वा ऐतिहासिक वंशानुगत सम्बन्ध छैन।नेपालका किरातहरू यहाँका प्राचीनतम, उदात्त र प्रकृति–आधारित समुदाय हुन्।स्वामी प्रपन्नाचार्यका अनुसार किरातहरूको संस्कृति, सभ्यता, आस्थाले उनीहरूलाई आर्य परम्परा मा राख्छ —जसको मूल सन्दर्भ शुद्धता, उदात्तता र उत्तम आचरण हो, न कि वर्ण वा अनुहार।'


४. नेपालका किरात र मङ्गोलहरूको भ्रम

ब्रिटिश इतिहासकार हड्सन, कक्पेट्रिक, राइटले अनुहारको मिल्दोजुल्दो आधारमा नेपालका जनजातिलाई “मङ्गोलोइड” ठहराइदिए।यही गलत वर्गीकरणले नेपालमा “हामी मङ्गोल हौँ” भन्ने भ्रम फैलियो।तर किरातहरूको इतिहास मङ्गोल सभ्यताभन्दा हजारौँ वर्ष पुरानो छ। लिच्छविहरू नेपाल प्रवेश गर्दा उनीहरूलाई आश्रय र संरक्षण दिने समुदाय नै किरात थियो —जसको अत्यन्त गौरवपूर्ण इतिहास छ। आपसमा मिल्दोजुल्दो रूप देखिँदैमा “मङ्गोल” भन्नु जैविक असत्य र ऐतिहासिक अन्याय हो।


५. नेपालको राष्ट्रिय झण्डा र भ्रम

नेपालको झण्डालाई “हिन्दू झण्डा” भनेर जलाउने घटना अज्ञान, भ्रम र गलत इतिहासबोध को परिणाम हो।झण्डामा सूर्य र चन्द्र भएका कारण “सूर्यवंशी–चन्द्रवंशी राजा” को कल्पना जोड्नु पनि पुराण साहित्यको काल्पनिक व्याख्या हो।


वैज्ञानिक अर्थ :

सूर्य = ऊर्जा, साहस, ज्ञान

चन्द्र = शान्ति, धैर्य, स्थिरता

दुई त्रिकोण = हिमाल, वीरता, किरात–लिच्छवि–मल्लकालीन परम्परागत त्रिभुज ध्वजा

नेपाल मात्र होइन —बंगलादेश, जापान, पुरानो चीनका झण्डामा पनि सूर्य थियो।तर तिनीहरू “सूर्यवंशी” थिएनन्।नेपालको झण्डा किरातकालीन त्रिकोण ध्वजा–परम्पराबाट विकसित भएको प्रमाण छ।


६. निष्कर्ष : पहिचानको सम्मान

नेपालका किरात समुदाय (राई, लिम्बू, सुनुवार, याक्खा आदि) नेपाली सभ्यताको सर्वप्राचीन आधारशिला हुन्।उनीहरूको अनुहार मङ्गोल जस्तै भएकोले आफूलाई “मङ्गोल” भन्नु जैविकरूपमा असत्य र सांस्कृतिकरूपमा गलत हो।मानवीय रूपमा सबैसँग सम्बन्ध राख्न पाइन्छ तर उत्पत्ति, वंश र जैविक पहिचान तथ्यमा आधारित हुनुपर्छ।


किरातहरू नेपालका मौलिक वंश हुन्, उनीहरू प्रकृति–पूजक हुन्, र उदात्त संस्कारयुक्त छन्।ऐतिहासिक रूपमा आर्य–आदर्शमा अवस्थित समुदाय हुन्।यसैले हामी “मङ्गोल” होइनौँ, हामी “किरात” हौँ' भन्ने पहिचान हाम्रो गौरव हो।


-कृष्ण प्रसाई