प्रतिबिम्ब: जीवन, पाप र मोक्षको अमर पाठ
यो कथा केवल चमत्कारको कथा होइन। यसले मानव–जीवनको महान् सत्य बताउँछ। प्रतिबिम्बले मनुष्यलाई जन्म–कुलले होइन, कर्मले परिभाषित गर्छ।
प्रतिबिम्ब: जीवन, पाप र मोक्षको अमर पाठ
एक समयका महान् दार्शनिक, योगी र विद्वान आत्मदेव संसारका सबै सुख–सुविधा र मान–प्रतिष्ठाले सम्पन्न थिए। ज्ञान, ध्यान, तपस्या—सबथोक उनीसँग थियो। तर जीवनमा एउटा मात्र कुरा थिएन —पुत्रप्राप्ति। यही एक न्यूनताले उनको मनमा गहिरो रिक्तता भरिएको थियो।
यो अभाव विस्तारै पीडामा, र पीडा निराशामा परिणत हुँदै गयो। अन्ततः उनी यस्तो अवस्थामा पुगे कि उनलाई “बाँच्नु र नबाँच्नु बराबर भएजस्तो” अनुभूति हुन थाल्यो र एक दिन त उनले आत्मदाह गर्ने विचार पनि गरे।
त्यही संकटको क्षणमा एक दिव्य महात्मा उनको जीवनमा प्रकट भए। महात्माले आत्मदेवलाई सम्झाए “मनुष्यले हतोत्साहित भएर जीवन छोड्नु हुँदैन।समय, विश्वास र कर्मले धेरै अप्रत्याशित चमत्कार दिलाउँछ।”
महात्माले दया गरी उनीलाई योगबलले सिद्ध गरेको एक अद्भुत फल दिए।“यो फल तिमी श्रीमतीलाई खुवाऊ।यसबाट अवश्य पुत्र–प्राप्ति हुनेछ,” भनी आशीर्वाद दिए।
आत्मदेव हर्ष–विह्वल भएर घर फर्किए।उनले मुस्कान र आशाले भरिएको आवाजमा श्रीमती धुन्धुलीलाई सब कुरा सुनाए र फल खानदिए।तर धुन्धुली संशयी मनकी नारी थिइन्।उनले मनमनै सोचिन् “यदि म गर्भवती भएँ भने नौ महिना कष्ट, दुःख, शरीरको रूप रंग बिग्रने, जिम्मेवारी थपिने छ।” त्यसैले उनले बहिनीसँग छलफल गरेर त्यो फल गाईलाई खुवाइदिइन्।
समय पुगेपछि त्यो गाईबाट एक दिव्य बालक जन्मियो, जसको नाम गोकर्ण राखियो।उनी जन्मेदेखि नै शांतस्वभावी, विनम्र र अत्यन्त तेजस्वी थिए।
उता धुन्धुलीकी बहिनीले पनि एक बच्चा जन्माइन्, र धुन्धुलीले त्यस बालकलाई आफ्नो छोरो भन्दै अपनाइ र धुन्धुकारी नाम राखिन्।यिनै धुन्धुकारी पछि लोभी, हिंसक, कुटिल स्वभावका बनिरहेका थिए।उता गोकर्ण भने भवन्ति, विद्वान, तपस्वी र सत्यनिष्ठ हुँदै गए।
धुन्धुकारी बड़ेपछि दुष्कर्ममा लाग्यो।उसले चोरी, अत्याचार, कुटपिट हुँदै घरमै नरक उत्पन्न गर्यो।ऊ दिनानुदिन हिंसक बन्दै गएका कारण आत्मदेव र धुन्धुलीको मृत्यु पनि यहीका कारण भए।धुन्धुकारी अन्ततः पाँच वेश्याहरूको वासमा फँस्यो। उनकै लोभ र क्रूरताका कारण ती वेश्याहरूले उनलाई राति राति जलाएर, बाँधेर, पीडा दिएर मारिदिए।उसको आत्मा अत्यन्त दुःखी प्रेतको रूपमा भौतारिन थाल्यो।
एक दिन गोकर्णले भाइ धुन्धुकारीको प्रेत–व्यथा सुने।उनी करुणाले भरिए र भने “यदि धुन्धुकारीजस्तो पापीलाई पनि मोक्ष मार्ग खुल्दो रहेछ, भने संसारका सबै प्राणीमा मुक्ति प्राप्तिको आशा रहन्छ।”
गोकर्णले धुन्धुकारीको उद्धारका लागि भागवत पुराण सुनाउने व्यवस्था गरे।भागवतको प्रत्येक स्कन्ध, प्रत्येक अध्याय समाप्त हुँदै जाँदा धुन्धुकारीको प्रेत–रूपमा कम्पन आउँथ्यो, आँसु झर्थ्यो।
जब सप्तम दिन भागवतको पारायण पूरा भयो, धुन्धुकारीको प्रेत–देह चिरिएर एक तेजस्वी दिव्य देह निस्कियो।उसले गोकर्णलाई दण्डवत् प्रणाम गर्दै भन्यो “भाइ, तिम्रो कृपा, भक्तिभाव र पुराणश्रवणको फलले आज मैले मोक्ष प्राप्त गरेँ।”
गोकर्ण मुस्कुराउँदै बोले “धर्ममार्ग कहिल्यै कसैका लागि बन्द हुँदैन।एकाग्रता, श्रद्धा र भक्ति—
यिनले सबैलाई मोक्ष दिलाउन सक्छ।” यसरी धुन्धुकारी पापी भएर पनि दिव्यलोकमा बिलिन पाए।
यो कथा केवल चमत्कारको कथा होइन।यसले मानव–जीवनको महान सत्य बताउँछ। कथाले मनुष्यलाई जन्म–कुलले होइन, कर्मले परिभाषित गर्छ।गाईबाट जन्मेका गोकर्ण विद्वान बने।मानिसबाट जन्मेका धुन्धुकारी पापी बने, पापकर्मी मानिस पनि पश्चात्ताप, श्रद्धा र सत्सँगतिबाट मोक्ष पाउन सक्छ।धुन्धुकारीले पापका कारण प्रेत बन्दै दुःख भोगे, तर अन्ततः भागवत–भक्तिभावले उद्धार भयो।जीवन हाम्रो प्रतिबिम्ब हो।हाम्रो कर्म, हाम्रो चेतना, हाम्रो एकाग्रता यिनै सबै प्रतिक्षा (Reflection) भएर फर्केर हामीलाई भेट्छन्।मोक्ष बाहिर होइन—हाम्रो अन्तस्करणमा छ।सुन्ने कान, बुझ्ने मन, र बद्लिने संकल्प भएनभागवत, गीता, उपनिषद्—सबै जीवनमा प्रकाश बन्नेछन्।
गोकर्ण–धुन्धुकारीको कथा केवल एक पौराणिक आख्यान मात्र होइन, मानव–जीवन, कर्म, मोक्ष, र चेतनाको गहिरो यात्रा हो। यसमा समाज, परिवार, नैतिकता, आत्मज्ञान, र आध्यात्मिक यात्राका महत्वपूर्ण सत्यहरू छरिएका छन्।
१. कर्म सिद्धान्त र नीतिको विजयी स्वरूप
आत्मदेवको श्रीमती (धुन्धुली) लोभ, अहंकार र कपटकै कारण गलत निर्णय गर्छिन्—मानवीय कर्मको यही मोडले धुन्धुकारी जस्तो विनाशकारी मानिसको जन्म गराउँछ।कर्मको परिणाम – धुन्धुलीको छल, लालच, असत्यका कारण परिवारमा दुख, विनाश र मृत्यु आयो।धर्म मार्गको शक्ति – यस्तै वातावरणमा जन्मेको गोकर्णले सत्य, नैतिकता, ज्ञान र तपस्याबाट सम्पन्न जीवन बिताउँछ। कर्मले नै व्यक्तिको भविष्य, मार्ग र मुक्ति तय गर्छ, जन्म वा परिस्थिति होइन।
जन्म होइन चेतना नै मोक्षको आधार हो। गाईबाट जन्मिएको गोकर्ण र स्त्रीको गर्भबाट जन्मिएको धुन्धुकारी।एक जना विद्वान, दयालु, पुण्यवान; अर्को विकृत, हिंसक, दुष्ट, पापिष्ठ हुनु।मुक्ति शरीरले होइन, चित्तले खोज्छ।मानिसले जन्मको आधारमा होइन, आफ्ना कर्म, ज्ञान र चेतनाको शक्तिबाट नै मोक्ष पाउँछ।
मोक्ष चेतनाको परिवर्तनबाट प्राप्त हुने सर्वोच्च अवस्था हो। धुन्धुकारी अत्यन्त पापी थियो। हत्या, हिंसा, व्यभिचार, लोभ सबै थियो उसमा तर मृत्युपछि पनि उसले मोक्ष प्राप्त गर्यो।त्यसको कारण गोकर्णको आध्यात्मिक ऊर्जा, भागवत श्रवणको प्रभाव तथा ध्यान–एकाग्रताद्वारा चेतनाको रूपान्तरण। “सबैभन्दा पतित आत्माले पनि सही साधनाबाट मोक्ष पाउन सक्छ र शुद्ध श्रवण र चिन्तनले चेतनाको अन्ध्कारलाई च्यातेर प्रकाशमा ल्याउँछ।”
जीवन एक दर्पण (Reflection) हो — कर्म नै प्रतिविम्ब हो।जीवन हाम्रो कर्म, सोच र निर्णयहरूको प्रतिबिम्ब मात्र हो।आत्मदेव परिवारको विघटन र मोचन, दुःख र उद्धार–सबै उनीहरूको कर्म र मानसिक धारणा अनुसार नै आयो।धुन्धुकारीको मृत्यु उसको कर्मको प्रतिविम्ब थियो। गोकर्णको तेज–ज्ञान उसको कर्म, निष्ठा र साधनाको प्रतिफल।
धुन्धुली र धुन्धुकारी दुवै चरित्रहरू अज्ञान, लोभ, मोह, असत्य को प्रतिक हुन्।यिनै चार दोषले परिवार उजाड बनायो, सम्बन्ध भत्कायो, मृत्यु निम्त्यायो र आत्मालाई नरकमा डोहोर्यायो। त्यसैले अज्ञानभन्दा ठुलो दुश्मन छैन।चेतनाको अवरोध नै जीवनको संकट हो।
गोकर्ण “आध्यात्मिक चेतनाको आदर्श हो।” उसको चरित्र ‘सत्य, ज्ञान, दया, साधना, त्यागको उच्च आदर्श हो।एक जना शुद्ध चेतनायुक्त व्यक्ति संसारका सबै आत्माहरूका उद्धारको मार्ग बन्न सक्छ।सकारात्मक ऊर्जा कसरी विनाशकारी आत्मालाई परिवर्तन गर्न सक्छ भन्नेको सर्वोच्च उदाहरण हो प्रतिबिम्ब।
-कृष्ण प्रसाई